संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

सांसद डा सिंह काठमाडौँ, ८ असार : नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद डा अमरेशकुमार सिंह विनियोजन विधेयक २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय,अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस

८ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिएका थिए ।

सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिनुभएको मुख्य सचेतक बर्तौलाले बताए । सांसद सिंहले बोलिरहँदा पटकपटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिए ।