संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ । देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुन बहुमत ल्याउनुपर्छ ।