न्युयोर्क
नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो उडानको क्रममा लगातर दुई वटा सुर्योदय देख्ने छ । क्वान्टस् एयरलाईन्सको महत्वाकांक्षी “प्रोजेक्ट सनराईज” ले सन् २०२२ भित्र सिड्नी – लन्डन् र सिड्नी – न्युयोर्क बीच सिधा यात्रु बाहक उडान सुरु गर्ने योजना अन्तर्गत उक्त परिक्षण उडान गरिएको हो । क्वानटस् एयरलाईन्सको सिड्नी – लन्डन सेक्टरपछि यो बिमान कम्पनी संसार कै सबैभन्दा लामो दुरीतय गर्ने यात्रु बाहक बिमान कम्पनी हुनेछ । तीन सय यात्रु क्षमता भएको “लङरिच” नामक बोईङ ७८७ ले परिक्षणका लागि क्याप्टन हेलन ट्रेनेरी सहित ४ पाईलटको साथ केही संचारकर्मी सहित ५० जना लिएर लन्डनबाट उडेको हो ।
परिक्षण उडानमा क्वान्टस् एयरलाईन्सका कर्मचारी र क्वान्टस् एयरलाईन्समा नियमित उडान गर्ने (फ्रिक्वेन्ट फ्लायर ) यात्रु समेत विश्व कै सबैभन्दा लामो दुरीको हवाई यात्राको परिक्षण उडानमा छन् । उडान अबधिभर यात्रारत यात्रुहरुको निन्द्राको ढाँचा (स्लिप प्याटर्न), खानेकुराको खपत, उडान भित्रको मनोरन्जनात्मक सामाग्री (इन फ्लाईट इन्टर्टेनमेन्ट), को प्रयोग आदीलाई अनुगमन गरिने छ । मेल्बर्न मोनास युनिभर्सिटीको एउटा समुहले उक्त परिक्षण उडानका चालक दलका सबै सदस्यहरुको उडान अगाडि र पछाडिको अवस्थाको अध्ययन गरिहरेको समेत जनाईएको छ । जहाजले आफ्नो यात्रामा ईन्धन भर्नको लागि कतै अवतरण गर्ने छैन ।
क्वान्टसले गत अक्टुबर महिनामा न्युयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलदेखि सिड्नी एयरपोर्टसम्मको १६ हजार किलोमिटरको परिक्षण उडान १६ घण्टा केही मिनेटमा तय गरेको थियो ।
एजेन्सी