सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

File Photo : AP

टोकियो । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ । अमेरिकाले ३९ स्वर्णसहित कुल ११३ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको ओलम्पिकको समापन समारोह भने जापानको राष्ट्रिय रङ्गशालामा आइतबार साँझ आयोजित भएको हो । दर्शकको उपस्थिति बिना नै ओलिम्पिक समापन कार्यक्रम आयोजना गरियो । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सो अवसरमा भब्य आयोजनाका लागि जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गरे ।

महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको उनको प्रतिक्रिया छ । ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान्‌ उपहारका रुपमा आशा दिएर गएको बताए । आगामी ओलम्पक अब फ्रान्सले आयोजना गर्नेछ । समारोहमा ओलिम्पिकको झण्डा पेरिसका मेयरलाई हस्तान्तरण गरिएको छ ।

ओलम्पिकको पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थानमा रहँदा ३८ स्वर्ण जितेको चीन दोस्रो स्थानमा रह्यो । २७ स्वर्णसहित जापान तेस्रो र २२ स्वर्णसहित बेलायत तेस्रो स्थानमा रहन सफल भए । नेपालको छिमेकी मुलुक भारतले १ स्वर्णसहित ७ पटक भित्राउँदा नेपाल भने पदक बिहिन घर फर्किएको छ ।