काठमाडौं
नेपाल सरकारले हचुवाको भरमा सगरमाथा चढ्ने अनुमती दिँदा यसपाली धेरै आरोहीको निधन भएको बारे प्रधानमन्त्री केपी शर्मा ओली बिबिसी विश्वसेवासँगको अन्तर्वार्तामा रक्षात्मक बन्न पुगेका छन् । युरोप भ्रमणमा गएको ओलीलाई बिबिसीले स्टुडियोमै बोलाएर यसपटकको आरोहण सिजनमा भएको मृत्युको उच्च संख्या बारे प्रश्न गरेको थियो ।
बिबिसीका प्रस्तोताले किन यति धेरैलाई आरोहण अनुमति दिएको भन्दै गरेको पहिलो प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले उक्त भनाइमा सत्यता नभएको दावी गरे । लगत्तै अहिलेसम्मकै धेरै ३८१ जनालाई आरोहण अनुमति दिएको र चुचुरोमा ट्राफिक जामका कारण धेरै आरोहीको मृत्यु भएको प्रतिप्रश्न बिबिसी प्रस्तोताले राखेका थिए ।
उक्त प्रश्नको जवाफमा भने प्रधानमन्त्री ओली रक्षात्मक बन्न पुगे । उनले एकै पटक धेरैलाई अनुमति दिएको नभइ सबै आरोही उपयुक्त मौसम पर्खेर एकसाथ माथि उक्लिँदा जाम बन्न पुगेको बताएर आफ्नो तर्क पुष्टि गर्न त खोजे तर बिबिसीको प्रतिप्रश्नले उनलाई फेरि रक्षात्मक अवस्थामै धकेल्यो । बिबिसीले मौसम खुल्ने समयमा पनि कति मात्र सहजै चढ्न र उक्लिन सक्लान् भन्ने तथ्य किन नराखेको भनेर गरेको प्रश्नको जवाफ ओलीले आगामी दिनमा आफुले हेर्ने भन्दै बिट मारे ।
सगरमाथामा यस पटक धेरैले आरोहण अनुमति पाएका र आरोहीको मृत्युदर बढेको बारे अन्तर्राष्ट्रिय संचार माध्यमले अघिल्लो महिना देखिनै श्रृङ्खलाबद्ध रिपोर्ट प्रकाशन एवं प्रशारण गरेका थिए । तर, बिबिसीको अन्तर्वार्ता हेर्दा उनको सचिवालय यसबारे बेखवर जस्तो देखियो । प्रधानमन्त्रीको प्रस्तुती अनुसार उनका सल्लाहकार एवं सचिवालयले सगरमाथाबारे प्रश्न उठ्न सक्ने र त्यसमा के जवाफ दिने भनेर कुनै तयारी गरेको प्रतित हुँदैन ।
नेपाल भन्ने वित्तिकै अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पहिलो चासो हिमालय क्षेत्रमै हुने गरेको छ । तर, नेपाली नेताले त्यो चासो बुझ्न सकेका छैनन् । आफुहरुले राजनीतिक मुद्दा सल्टाएको, दुई तिहाई बहुमतको बामपन्थी सरकार बनेको जस्ता बिषय जति सुनाउन चाहे पनि न संचारकर्मीलाई मतलव हुन्छ न विदेशी पाठक दर्शकलाई नै ।
बिबिसीले ओलीसँगको अन्तवार्ता सहितबारे नौ मिनेटको प्याकेज बनाएको थियो । अन्तर्वार्ता अघि साढे एक मिनेटको सगरमाथा आरोहणबारेको नेपाली मुलका पत्रकार नविनसिंह खड्काको रिपोर्ट बजाएको थियो । रिपोर्टमा खड्काले सगरमाथा आरोहणको नियमन गर्न ६० कर्मचारीलाई खटाए पनि मुस्किलले पाँच जना पनि बेसक्याम्प नपुगेको यथार्थ सुनाएका थिए । त्यसबारे पनि प्रस्तोताले प्रश्न गरेपछि ओलीले अनुसन्धान गर्ने जवाफ दिएका छन् ।
सगरमाथा आरोहणको सन्दर्भपछि बिबिसीले ओलीलाई चीनसँगको नेपालमा बढ्दो प्रभाव, नेपाल चीनको ऋणपासोमा पर्न सक्ने सम्भावना लगायतबारे प्रश्न गरेको थियो । त्यसमा उनले नेपालले आफ्नो आवश्यकतामा कर्जा लिने र कसैले थोपरेर नथोपरिने जवाफ दिएका थिए ।