सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

File photo : Seven summit treks pvt

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथामा प्रचारमा आएजस्तो कोरोना नफैलिएका स्पष्ट पारेको छ । बीबीसी, सीएनएनसहितका संचारमाध्यमले सगरमाथामा कोरोना फैलिएको भन्दै प्रचार गरेका थिए । यो समाचारको सरकारले खण्डन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड १९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यहाँ खटिएका सम्पर्क अधिकृतले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ७४५ अनुमति प्राप्त आरोहीमध्ये कुनै पनि कम्पनी वा आरोहण दलको सरदारबाट टीमको कुनै पनि सदस्य कोरोना संक्रमित भई आरोहण अभियानबाट फिर्ता गर्नुपरेको रिर्पोट सरकारलाई नआएको समेत मन्त्रालयको भनाई छ । यसरी आएका समाचारलाई मन्त्रालयले भ्रमपूर्ण र त्रास फैलाउने खालका मात्र भएको बताएको छ ।

मन्त्रालयका अनुसार अहिले पर्यटन विभागबाट आरोही दलको आरोहण गतिविधि र महत्वपूर्ण समाचार नियमित रूपमा प्रवाह गर्न हरेक दलसँग एक–एक जना सम्पर्क अधिकृत खटिएका छन् । ती सम्पर्क अधिकृतका माध्यमबाट बुझ्दा हिमालमा स्वास्थ्य जोखिम नभएको पाइएको छ ।