काठमाडौं । विदेशमा सङ्कटमा रहेका नेपालीलाई अब सरकारले क्रमश घर ल्याउने भएको छ । सरकारको तयारीअनुसार अहिलेकै अवस्थाबाट उद्धार प्रारम्भ गर्दा समेत सङ्कटमा रहेका नेपालीलाइ घर फर्काउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ ।
क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बाट कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा प्रस्तुत विवरणअनुसार सङ्कटमा रहेका वा स्वच्छाले समेत हवाई मार्गबाट मात्र १० लाख नेपाली घर फर्कने अनुमान गरिएको छ । नेपालले दैनिक १० हजार मानिसलाइ हवाइ मार्गबाट उद्दार गर्न सक्ने अनुमान समेत गरिएको छ ।
समितिको बैठक मंगलबार बसेको थियो । बैठकमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउने सम्बन्धमा वृहत छलफल भएको थियो । नेपाल ल्याइसकेपछी पनि अनुशासनसहित क्वारेन्टाइनमा राख्ने तयारीमा समेत छलफल भएको थियो ।
सरकारले प्राथमिकताका आधारमा विदेशबाट नेपालीलाई घर फर्काउने निर्णय गरिसकेको छ । परराष्ट्र मन्त्रालयले गरेको तयारी अनुसार सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीलाई घर ल्याइदैछ । प्रधानमन्त्री केपि शर्मा ओलिले समेत मङ्गलबार क्रमश नेपालीलाई घर फर्काउने जानकारी गराएका थिए ।
भारत र तेस्रो मुलुक, सबै स्थानबाट घर फर्कने नेपालीलाई घर ल्याउने योजना छ ।