सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?


काठमाडौं । सत्तारुढ गठबन्धनले बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागवण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।

सहमति अनुसार नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

महानगरपालिका भागबण्डामा भने बुधवार नै सहमति जुटाएका थिए । जसमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एकरएक महानगर दिने सहमति भएको छ ।

सहमति अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्। पोखराका नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएको थियो।

यस्तै, भरतपुरका नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।