सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन्। बिहीबार सिंहदरबारमा कार्यक्रम सार्वजनिक गरेपछि सम्बोधन गर्दै उनले यो राष्‍ट्रिय सहमतिमा बनेको बताएका हुन्। उनले सरकारमा आएको १०० दिनमा दोस्रो कार्यक्रम सार्वजनिक गरेका हुन्।

‘यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ। योभन्दा पहिले सरकारमा भएका पार्टीहरूको पनि दिमाग छ। त्यसकारण भन्ने नै हो भने यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम भन्न पनि सकिन्छ,’ उनले भने। यो अघिल्लो कार्यक्रमभन्दा परिमार्जित र विकसित भएको बताए। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र सात दलीय गठबन्धन हुँदा कार्यक्रम सार्वजनिक भएको थियो।

‘यो पहिलेकोभन्दा विकसित र परिमार्जित भएर आएको छ। हामी सबैले पहिला यहीँ नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मिहिनेत गरेर न्यूनतम साझा कार्यक्रम बनाएर घोषणा गरेका थियौं,’ उनले भने, ‘त्यो कार्यक्रम त्यसपछि मैले प्रधानमन्त्री अघिल्लो गठबन्धन जसमा सात राजनीतिक दलको सहभागिता थियो। त्यतिबेला साझा न्युनतम कार्यक्रम समेतलाई अधययन गरेर त्यसमा भएका सबै राम्रा कुराहरूलाई अझ व्यवस्थित र परिमार्जन गरेर सरकारको यो बनेको छ।’