सत्ता गठबन्धनको बैठक आज

काठमाडौं । सरकारलाई समर्थन गरेका ७ दलका नेताबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो आह्वान गरेका छन् । यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले एक्लै कुराकानी गरेका छन् । पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन्। तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए।

यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।