सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

काठमाडौं । सत्ता गठबन्धनबीच देशभरका ६ वटा महानगरपालिकामा तालमेलको टुंगो सोमबार लाग्ने बताइए पनि आज टुंगो लाग्न सकेन । सोमबार दिनभर भएका विभिन्न चरणका छलफलमा समेत सहमति जुटेको छैन । मंगलबार विहान साढे ११ बजे बैठक पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिनेछ ।

भरतपुरको मेयर माओवादी केन्द्र र वीरगञ्जको मेयर जनता समाजवादी पार्टीले पाउने गरि करीव करीव सहमती जुटेको समेत बताइएको छ । तर, पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुबैले दाबी गरेका कारण सहमति जुटिसकेको छैन । पोखरामा गत निर्वाचनमा एमालेले जितेको हो । सोहीकारण यो महानगर आफुले पाउनु पर्ने समाजवादीको दावि छ ।