काठमाडौं । अमेरिकी अनुदान एमसीसीका कारण नेपालको राजनीतिमा अर्को उथलपुथल आएको छ । अब प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएका सत्तारुढ दलबीचको गठबन्धन टुट्ने भएको छ । त्यसको साटो नेपाली कांग्रेस र एमाले गठबन्धनका लागि सहमत भएका छन् । यसले एमसीसी पास गर्नेदेखि सत्तामा समेत यी दुई दलले भागबन्डा गर्ने छन् ।
बिहीबार राती प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति जुटेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति जुटेको स्रोतको भनाई छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाले विगतमा मुलुकलाई निकास दिन कांग्रेस र एमालेले पटक पटक सहकार्य गरेको स्मरण गराएका छन् ।
संसदबाट एमसीसी पास गर्ने शर्तमा उनी गठबन्धन समेत तोठ्न तयार भएका हुन् । उनको भनाईमा केपी ओली समेत सहमत भएका कारण दुई ठूला दलबीच सहमति भएको हो । ओलीले निकासका लागि एमाले बाधक नबन्ने बताएका थिए । अहिलेकै अवस्थामा एमाले संसदमा प्रवेश गर्ने वातावरण नभएको र त्यो वातावरण बनेमा अवरोध नगर्ने उनको भनाई छ । एमालेको माग कसरी पुरा गर्ने भन्ने चाँही स्पष्ट भइसकेको छैन । दुई दलबीच शुक्रबार समेत छलफल हुने छ ।