सन्यासपछि पारसको स्पष्टीकरण : क्रिकेटमै रमाउँछु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अकस्मात अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । यो घोषणालाई लिएर क्रिकेट समर्थक निरास बने । यसबारे विभिन्न अड्कल बाजी समेत भए । नेपाली क्रिकेटलाई विश्वकपसम्मको यात्रा, वानडे मान्यता दिलाउनेसहित दर्जनौं उपाधी हात पारेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आज आफ्नो सन्यासबारे थप स्पष्ट पारेका छन् । उनले आफु क्रिकेटकै विभिन्न रुपमा रहने बताएका हुन् ।

अवसर भएमा भने राजनीतिमा समेत आउने सक्ने उनको भनाई छ । राजनीतिमा अवसर पाए त्यसबाट पनि पछि नहट्ने उनको भनाई छ । उनले भने, ‘म कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले भ्यालु एड गर्न सकेँ भने म तयार हुनेछु।’

तर, पारस तत्काल भने क्रिकेटको व्यवस्थापनमा रहन चाहेको बताउँछन् । क्रिकेट व्यवस्थापनलाई सफल बनाउने उनको चाहना रहेको छ । उनले अगाडी भने, ‘अन्तर्राष्ट्रिय खेल जीवन सकिएपछि व्यवस्थापनमा आऊँला वा पदाधिकारीमा आऊँला, म मात्र भएर हुन्न, अहिलेको स्टक होल्डरहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्नेछ ।’ एउटा खेलाडीका कारणले क्रिकेटमा परिवर्तन ल्याउन सम्भव भए पनि व्यवस्थापनमा यो सजिलो नहुने उनले बताए ।