सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२० भित्रै कोभिड १९ विरुद्धको खोप उपलब्ध हुने बताएको छ । संगठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले धेरै मुलुकमा औषधि र खोपमा लागि द्रुत गतिमा काम भएको भन्दै त्यो काम अब अन्तिम चरणमा पुगेको बताएका छन् । सन् २०२० को अन्त्य या सन् २०२१ को प्रारम्भ र्मै खोप बजारमा उपलब्ध हुने उनको भनाई छ । उनले कोभिडसँगै जिउनु पर्ने समयमा संक्रमित कसैमाथि पनि दुर्व्यवहार गर्न नहुने बताए ।

त्यसमाथि कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि यस्ता घटना हुनु दुखद पक्ष भएको उनको भनाई छ । स्वास्थ्यकर्मीमा दुर्व्यवहारका घटना बढ्दा भोली स्वास्थ्यकर्मी नै अस्पतालमा नहुने अवस्था आउन सक्ने चेतावनी समेत उनले दिए । अग्रपंक्तिमा रहेर काम गर्ने जनशक्ति संक्रमित हुनु स्वाभाविक भएको समेत उनको भनाई छ । संक्रमित हुनु कसैको दोष र रहर नहुने भन्दै सामुहिक लडाईबाट मात्र यो भाइरसविरुद्ध जीत हाँसिल गर्न सकिने उनको भनाई छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने हो भने कोही पनि व्यक्ति संक्रमित हुनु नपर्ने उनको भनाई छ ।

कोभिड १९ विरुद्धको खोप गरिब मुलुकमा समेत सहजै उपलब्ध हुने गरी व्यवस्थापन मिलाइने भान्देलारले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खोप स्वास्थ्यकर्मीलाई उपलब्ध हुनेछ । त्यसपछि संक्रमणका कारण ज्यान गुमाउने जोखिममा रहेका बिरामीमा उपलब्ध हुनेछ । त्यसपछि मात्र आम मानिसमा खोप उपलब्ध हुने उनले जानकारी दिए ।