सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा

Photo : ABC NEWS

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकले सन् २०२१ को अन्त्यसम्ममा इराक छाडिसक्ने घोषणा गरेका छन् । तर, इराकको सेनालाई तालिम र सल्लाह दिन भने त्यहाँ अमेरिकी सेना रहने उनको भनाई छ । बीबीसीका अनुसार इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका अवसरमा सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि बाइडनले यस्तो घोषणा गरेका हुन्। इराकमा अहिले पच्चिस सय लडाकु अमेरिकी सैनिक छन्। ती सैनिकहरूले इराकी फौजलाई बाँकी रहेका इस्लामिक स्टेट लडाकूसँग लड्न सहयोग गरिरहेका छन् । यो घोषणापछि पनि कैयौँ अमेरिकी सैनिक भने इराकमै रहने छन्।

बाइडनको घोषणालाई इराकी प्रधानमन्त्रीलाई सहयोग पुर्‍याउनका लागि गरिएको कार्यका रूपमा हेरिएको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपतिको घोषणालाई राष्ट्रपति जर्ज डब्लू बुसका बेला सुरु भएको अर्को युद्ध अन्त्य भएको रूपमा हेरिने भएको छ ।उनले यसै वर्ष अफगानिस्तानबाट अमेरिकी फौज हटिसक्ने बताएका थिए र अहिले त्यहाँबाट विदेशी सेनाहरू फिर्ता भएका छन्।