सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

सुपेन्द्र बस्नेत, बोष्टन

नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल प्रारम्भ हुन अब केही दिन मात्र बाँकी छ। नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु पनि नयाँ वर्षलाई उत्साह र उमङ्गका साथ मनाउदै नयाँ साललाई स्वागत गर्ने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि नेपाली साँगीतिक माहोलमा नयाँ वर्ष मनाउदै २०८० साललाई स्वागत गर्ने तयारी गरिरहेका छन्।यस अवसरमा बोस्टन स्थित नेपाली समुदायको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय (जिबीएनसी-GBNC)’ले नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते तदनुसार अप्रिल १४ तारिख सुक्रवार साँझ साँगीतिक कार्यक्रम ‘बैशाखी साँझ -२०८०’ को आयोजना गरेको छ। संस्थाले गर्ने आफ्नो प्रमुख वार्षिक क्रियाकलापहरुको तालिका अनुसार नै ‘बैशाखी साँझ -२०८०’ को आयोजना गरिएको हो। जसलाई संस्थाले लामो समयदेखि निरन्तरता दिदै आइरहेको छ।

नेपाल र नेपालीप्रतिको आत्मीय सामिप्यता दर्शाउदै र नेपाली साँगीतिक माहोलमा रमाउदै एक आपसमा शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रम,
बोस्टन सहरको 400 Cardinal Medeiros Avenue, Cambridge मा हुदैछ। साँझ ५ बजेदेखि राती साँडे ११ बजेसम्म सञ्चान हुने यस कार्यक्रमको मुख्य आकर्षकका रुपमा, नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक ‘प्रकाश सपुत’ रहने आयोजकले जनाएको छ।

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष अन्जु थापाका अनुसार
सपूतलाई ‘बैशाखी साँझ-२०८०’ मा विशेष अतिथिका रुपमा निम्त्याइएको छ। र, कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु गाउदै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने छन्। उनले भनिन्, ‘यस पटकको बैशाखी साँझको विशेष अतिथिका रुपमा, चर्चित गायक प्रकाश सपुत हुने छन्। उनले नेपाली साँगीतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै विशेष अतिथिका रुपमा निम्त्याएका छौं। जो बोस्टनवासी नेपाली समुदायको मनोभावना अनुसारकै निर्णय हो।’ अध्यक्ष थापाले भनिन् , ‘आसा छ, कार्यक्रमले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाउनुका साथै सपूतले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको पनि कदर हुनेछ।’

यस कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुदै आफ्ना चर्चित साँगीतिक कोसेलीहरु पस्कने तयारीमा रहेका सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष भव्य र सभ्य रुपमा मनाउन बोस्टनवासी नेपाली समुदाय निकै आतुर रहेका छन्।

पछिल्लो समय मार्मिक सन्देशसहित भरपूर मनोरञ्जन दिलाउने सपूतका गीतहरु – मायाको मुखैमा चिनी…, किन सर्छेउ पर…आउन वर वर, हे जोतिसेले तिम्रै हुने भने अहिले… (तीज गित), गलबन्दी च्यातियो तिम्ले तानेर…
बोल माया …, बदला बरिलै…, मेरो पनि हैन र यो देश…, ‘कुरा बुज्न पर्च… ,पीर …निकै चर्चामा रहेका छन्।

कार्यक्रम आयोजक संस्था जिबिएनसि(GBNC)का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप भट्टराईले दिएको जानकारी अनुसार, कार्यक्रममा स्थानीय नेपाली
कलाकारहरु बिराज गुरुङ, संयक अधिकारी, पूजा घिमिरे, राज लामा, निरज खत्री, नित्य शर्मा, सोनाली राभण्डारी, सुदा गुरुङ, रोनिशीका थापा लगायतले पनि आ-आफ्नो साँगीतिक कोशेली पस्कने तयारी गरिरहेका छन् भने, डिजे मुकुन्द र डिजे डिले कार्यक्रमलाई थप रौनक र मनोरञ्जनात्मक बनाउन महत्वपूर्ण योगदान गर्ने भएका छन्।
उनका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भैसकेको छ। ४ सय वटा टिकट बिक्री गर्ने लक्ष्य राखिए अनुसार नै सम्पूर्ण टिकटहरु पनि बिक्री भैसकेको छ।
कार्यक्रमलाई नेस्ट रियल स्टेट (NEST real estate) ले मुख्य प्रायोजन गरेको छ भने, सनसेट डेकोर (SUNSET Decor), जेनट्राभल डट कम(Zentravels .com) लगायतले पनि आर्थिक सहयोग रहेका छन्।
कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न हुनेमा आयोजक विश्वस्त रहेको छ।