सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

काठमाडौं । सप्तकोशीको बाढी पिडित परिवारलाई राहत तथा व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीबाट सहायता आह्वान गरेको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार प्राधिकरणले प्रेस नोट जारी गरी सहयोग आह्वान गरेको हो । उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।

राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिएको छ । संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ । सप्तकोशीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो ।

सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ । प्राधिकरणका अनुसार नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रबरबोट, ६ थान हेलमेट उपलब्ध गराएको छ । रेडक्रसले खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैगरी बेलायत सरकार र केयर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइमा सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरु खरिदका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघमार्फत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।