सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको थियो ।
मोटरसाइकल बसमा ठोक्किएर अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको प्र.२ ०१, ००१ प ९५५६ नम्बरको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र.न.२.०१.००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ ।
चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते छन् ।