सबै म्यानपावर कम्पनी नविकरण हुने

File

काठमाडौं । सरकारले अहिले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसाय कम्पनी नवीकरण गरिदिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको हो । कोरोना महामारीका कारण विदेशमा तोकिएको संख्यामा कामदार पठाउन नपाउँदा ७३१ वटा म्यानपावर कम्पनी खारेज हुने सम्भावन थियो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अहिले ८५४ वटा कम्पनी सञ्चालनमा छन । नियमित प्रक्रियाबाट नवीकरण गर्न विभागले सूचना प्रकाशन समेत गरेको थियो । यस प्रक्रियाबाट जाँदा कम्पनीले प्रत्येक वर्ष असार मसान्तभित्र नवीकरण गराउनुपर्ने व्यवस्था छ । प्रत्येक महिना दस हजार शुल्क तिरेर असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गराउन सक्ने व्यवस्था समेत छ ।

नियमित प्रक्रियाबाट जाँदा लगातार दुई आर्थिक वर्षमा २०० श्रमिक विदेश पठाएको प्रमाणित गर्नुपर्ने थियो । तर, कोरोना महाकारीका कारण ७३१ कम्पनीले उक्त आंकडामा कामदार पठाउन सकेका थिएनन् । वैदेशिक रोजगार ऐन २०६४ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय श्रमिक पनि पठाउन नसकेका कम्पनीको इजाजतपत्र नवीकरण नहुने व्यवस्था छ । सरकारले भने विशेष परिस्थितिका कारण बाधा अड्काउ फुकाउ गरिदिएको छ । यसका लागि व्यवसायीले सरकारसँग लामो समयदेखि लबिंग गरिरहेका थिए ।