काठमाडौं । आज सरकारको संसद विघटन गर्ने अंवैधानिक निर्णयको विरुद्धमा नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको जनाएको छ ।
सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यही अनुसार आज प्रदर्शन हुन लागेको हो ।
पुस २५ मा ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय कांग्रेसले गरेको हो । यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।