काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपाका नेता हुन् ।
सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।
नेम्वाङको प्रस्तावमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरे ।
गत असोजमा कृष्णबहादुर महराले राजिनामा दिएपछि रिक्त भएको उक्त पदमा चार महिनापछि सापकोटा निर्वाचित भएका हुन् ।
सापकोटा नेकपाका अध्यक्ष प्रचण्डका विश्वास पात्र हुन् । उनी नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत हुन् ।
करीव १५ वर्ष शिक्षण पेशा गरेका सापकोटा १० वर्षे जनयुद्धमा होमिएका थिए । जनआन्दोलन ०६२\०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी दुई पटक मन्त्री बनेका छन् ।
शान्ति प्रक्रियापछि ०६४ र ०७० को संविधान सभा निर्वाचनमा सभासद बनेका उनी ०७४ को निर्वाचनमा सिन्धुपाल्चोकबाट सांसदमा निर्वाचत भएका थिए ।
स्थानीय स्तरमा उनी लोकप्रिय छन् । झलनाथ खनाल नेतृत्वको सरकारमा उनी सञ्चार मन्त्री भएका थिए ।
०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारीमा थिए ।