काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले कुनै समस्या पर्दा सिधा सम्पर्क गर्न सक्ने गरि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले फोन नम्बर सार्वजनिक गरेका छन् । पछिल्लो समय भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने क्रम बढेपछि उनले आफ्नो फोन नम्बर सार्वजनिक गर्दै समस्या पर्दा टिपाउन आह्वान गरेका छन् । यस्तो काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने उनको प्रतिवद्दता छ ।
मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौं गुनासो आउने गरेको बताए ।
‘नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौं रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ,’ उनले भनेका छन् ।
आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु ट्राभल्स सञ्चालकहरु, दलाल तथा विचौलियाहरु संलग्न रहेको पाइएको र उनीबहरुबारे उजुरी पनि आएको मन्त्रीले जानकारी दिएका छन् ।
‘अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले अपीलमा भनेका छन्,’ त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्नुहुनेछ ।’