बाँके । मान्छे माथि आक्रमण गरी आतंक फैलाएको बाघ समातेको केही दिनमै खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुन्जमा जोखिम बढेको छ । खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि निकुन्जमा उच्च सतर्कता अपनाइएको निकुन्ज प्रशासनलाई उदृत गर्दै राससले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको हो ।
मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न समेत आग्रह गरिएको छ । निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न सूचना जारी गरेको छ । बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जसमक्ष बुझाएको थियो ।
बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।