ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय गरेको महानगरले जनाएको छ ।
महानगरपालिकाले समिट अपार्टमेन्ट परियोजनाबाट प्रभावित व्यक्तिहरुको समस्या सम्बोधन गर्ने प्रयोजनका लागि तत्कालका लागि एक करोडको र्यापिड रिलिफ फण्ड स्थापना गर्ने निर्णय पनि गरेको छ । कोषबाट भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाहरुको क्षति बमोजिमको क्षतिपूर्ति निर्माण कम्पनीले उपलब्ध गराउने पनि महानगरपालिकाले निर्णय गरेको छ । महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको देखिएमा महानगरपालिकले निर्माण पक्षलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।