काठमाडौं । सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेको विरोधमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी प्रदर्शन गर्ने भएको छ । राजधानी काठमाडौंसहित देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना हुने भएको छ ।
राजधानीको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने तयारी रहेको नेताहरुले बताएका छन् । राजधानीमा बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस निकालिने भएको छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस निकाल्ने तयारी छ ।
रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकाल्दैछन् । यी जुलुस भृकुटीमण्डपमा जम्मा हुनेछन् । यहाँ शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । अहिले जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन जारी राखेका छन् ।