सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी छिन् । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ ।

‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउबिज, प्राविधिक शिक्षा, सिँचाइलगायतका सेवा–सुविधा सहजरूपमा उपलब्ध गराउनका लागि किसान कार्डको व्यवस्था गर्ने । मल कारखाना स्थापना गर्ने । कृषि बीमाको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट हुने बालिनालीको जोखिमलाई न्यूनीकरण गर्ने । किसानलाई योगदानमा आधारित पेन्सन योजना अगाडि बढाउने । कृषि बजार र कृषि उत्पादन खरिदको सुनिश्चिता गर्ने’, सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

सरकारको न्यूनतम साझा कार्यक्रममा २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने र पचास युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने पनि उल्लेख छ । यस्तै सिँचाइमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदयाममा २० प्रतिशत महसुल छुट दिने जनाइएको छ । साथै १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

यस्तै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विदेश भ्रमण, नयाँ भवन निर्माण, गाडी खरिद तथा कार्यालय सञ्चालन खर्चमा कटौती गर्ने जनाइएको छ ।