सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भएको थियो । त्यसलाई परिमार्जन गरी आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ । वर्तमान आर्थिक अवस्था र यसको सुधारका लागि प्रयास, कृषि क्षेत्र, पर्यटन, जलस्रोतलगायतलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै एउटै विवरणसहितको राष्ट्रिय परिचयपत्रलाई अगाडि बढाउने विषय पनि समेटिएको छ ।

शान्ति प्रक्रियालाई पूर्णता दिने, सङ्क्रमणकालीन न्यायका सबै प्रक्रिया तत्काल पूरा गर्ने प्रतिवद्धता पनि साझा न्यूनतम कार्यक्रममा समावेश रहेका छन् । कार्यदलले तयार पारेको कार्यक्रम आज सत्ता गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ । अनि गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।