काठमाडौं । सरकारले करीव १ हजार कर्मचारीको दरवन्दी थप गरेको छ ।
राजपत्रांकित श्रेणीमा एक हजार कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै तीन वटा मन्त्रालयमा दरवन्दी थप गर्ने निर्णय गरेको हो ।
खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बास्कोटाले जानकारी दिए ।
सरकारले सबै सेवा तल्लो तहसम्म पुर्याउने गरी स्थानीय तहको परिकल्पना भएपनि केन्द्रमा पद सिर्जना गरी चाप थप्न भने अझै छाडेको छैन ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटले गत साउन ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पद सिर्जना भएको जानकारी दिएका हुन् ।
अहिले सरकारको चालु तर्फको ठूलो बजेट तलव भत्तामा खर्च हुने गरेको छ ।
मन्त्री बास्कोटाका अनुसार खानेपानी मन्त्रालय २१३ जना, वन तथा वातावरण मन्त्रालय ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ७२६ जना गरी जम्मा ९८९ लाई अस्थायी दरबन्दीका लागि स्वीकृत गरिएको हो।