सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट डर होइन, सचेत हुने आह्वान गरेको छ । पछिल्लो समय भनसुनमा पिसिआर गर्ने, एकै व्यक्तिले पहुँचको आधारमा धेरै पटक परीक्षण गर्ने सम्मका घटना बढेपछि सरकारले सरकारले पीसीआर परीक्षणमा मात्र दबाब नदिन आग्रह गरेको छ ।
पीसीआर परीक्षण महँगो विधि भएको र त्यस क्रममा सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेले मात्र परीक्षण गर्नुपर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआरलाई मात्र कोरोना रोगको अचुक औषधी नमान्न आग्रह गरे ।


सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उनको भनाई छ । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसोलेशनमा बस्दा सबैभन्दा उत्तम हुने उनले बताए । घरमा बस्दा मानिसमा आत्मविश्वाससमेत बढ्ने भएकाले संक्रमणलाई छिटो जित्ने सकिने उनले बताए ।