सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साथै प्रदेशका लागि प्रमुखको नाम नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबार सरकारले यसअघि नियुक्त सातै जना प्रदेश प्रमुखलाई बर्खात गरेपछि नयाँ नियुक्त गरेको हो ।

सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ७ जनाको नाम सरकारलाई सिफारिस गरेको थियो । सोही अनुसार सरकारले नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

उनीहरुलाई मंगलबार पद तथा गोपनीयताको सपथ खुवाउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । प्रदेश प्रमुखहरुमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भागबन्डा गरिएको छ।

ओली पक्षका चार जना र प्रचण्ड पक्षका तीन जनाले नियुक्ती पाएका छन् । प्रदेश प्रमुख सिफारिस भएका अधिकारी, यादव, कलौनी र प्रसाईं पूर्वएमाले पार्टीमा आवद्ध थिए । शेरचन, परियार र त्रिपाठी पूर्वमाओवादी खेमाका हुन्।