काठमाडौं । सरकारले सेयर धितो राखेर ऋण लिने ठूलो लगानीकर्तालाई लगाम लगाएको छ । यसअघि सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशत राखी सोका आधारमा मागेजति कर्जा दिने गरिएको थियो । अब भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको हो । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिको बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइनेछैन । विभिन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाइने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो । यसबाट ठूलो लगानीकर्ता प्रभावित हुने छन् । साना लगानीकर्तालाई भने यसले कुनै असर गर्नेछैन । सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा यथावत् नै राखिएका कारण समेत बजारलाई भने यसले प्रभाव पार्ने छैन ।