सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन, कुन नेताले कहाँ गर्दैछन् सम्वोधन ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रर्दशन गर्दैछ। सरकारका ज्यादती र भ्रष्टाचारका विरुद्ध देशव्यापी प्रर्दशन गर्न लागेको हो। आज हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई कांग्रेसले आव्हान गरेको छ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ। मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ। कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन्।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र नीधि भक्तपुरमा, महामन्त्री डा.शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सितादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए। अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन्। देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन्। सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका थिए।

शर्माले ट्वीटमा लेखेका छन्, जांगरले प्रदर्शनमा जुटौं तर परिस्थिति अनुरुपको सजगता अनिवार्य राखौँ।’ भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रीत भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ। आज हुन लागेको प्रर्दशनमा सभापति शेरबहादुर देउवाले मकवानपुरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन्। उपसभापति विमलेन्द्र निधिले भक्तपुर र महामन्त्री शशांक कोइरालाले विराटनगरमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरीमा सम्बोधन गर्ने भनिए पनि उनी कोरोना संक्रमित भएकाले तत्काल कुनै सार्वजनिक कार्यक्रममा जाने छैनन्। चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले पोखरा र एनपी साउदले अछाममा सम्बोधन गर्ने भएका छन्।

यसैगरि कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा, सहमहामन्त्री प्रकाशशरण महतले झापा, गोपालमान श्रेष्ठले काभ्रेमा, प्रकाशमान सिंह धनुषा, गगन थापा कैलाली र प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्ने बताइएको छ।तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो।