काठमाडौं । आमरण अनसन शुरु भएको २५ दिनपछि आज पहिलो पटक सरकारलले डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । त्यसका लागि सरकारले केसी पक्षधर दुबैले वार्ता टोली गठन गरेका छन् । सरकारले अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
यसअघि मङ्गलबार स्वयमः सचिव मैनालीले केसीलाई भेटि अनसन त्याग्न आग्रह गरेका थिए । तर, केसी भने वार्ता टोली गठन भई औपचारिक संवादमा सरकार आउनु पर्ने अडानमा थिए । सोहीअनुसार सरकारले वार्ता टोली गठन गरेको हो ।
सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन्। उता, डा गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोली गठन भएको छ ।
टोलीमा डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा. अन्जनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य छन् । आजबाट हुने वार्ताले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । अनसनरत डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारमाथि तीव्र जनदवाव बढेपछि सरकारले वार्ता गर्न लागेको हो ।