काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो। सरकारले प्रतिबन्धबाट फुकुवा गर्न र नेकपाले शान्तिपूर्ण राजनीति गर्न सहमति जनाएका हुन् ।
दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।
यस्ता छन् सहमति
१) दुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ
२) नेकपाले आफ्ना सबै गतिविधि शान्तिपूर्वक गर्ने सहमति
३) नेपाल सरकारले नेकपामाथि प्रतिबन्ध फुकाउ गर्ने, कारागारमा रहेकाहरुलाई छुट गर्ने र सबै आरोपहरु खारेज गर्ने