सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनु पर्ने भन्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश अब दुई गुटमा विभाजित भएका छन् । कुल १९ जना न्यायाधीश रहेकोमा पाँच जना अलग भएका छन् । उनीहरुले अब बाँकी न्यायाधीशसँगको छलफलमा सहभागी नहुने निर्णय लिएका हुन् । न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले यस्तो निर्णय लिएका हुन् ।

सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा समेत यी न्यायाधीश सहभागी भएनन् । उनीहरुले फूलकोर्ट बाहेकका बैठकमा सहभागी नहुने निर्णय लिएका छन् । सोमबार नै प्रधानन्यायाधीश जबराले आन्दोलन त्याग गर्न विज्ञप्ती निकालेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका न्यायाधीशले जबराले तोकेका मुद्दा सुनुवाइ गर्न मानिरहेका छैनन् । अहिले बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइ भइरहेको छ । असन्तुष्ट न्यायाधीशको अबको भूमिका के हुने भन्ने चाँही निश्चित छैन ।