सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा

काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा भएको छ । सोही सम्झनामा आज नेपाल र विदेशमा समेत अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइंदैछ । सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ । सगरमाथा नेपालमा पर्यटक आकर्षित गर्ने मूख्य माध्यम पनि हो ।