काठमाडौं । प्रशासनले अब अत्यावश्यक कामका लागि भन्दै लिइने सवारी पास वितरणमा अझै कडाई गरेको छ । अब एकै दिनमा सवारी पास पाइने छैन । सरकारले काठमाडौं उपत्यका र २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टी भएका जिल्लामा जोर विजोर प्रणाली शुरु गरेको छ । एक जिल्लाबाट अकोए जिल्ला जान निषेध छ । तर, सरकारले वितरण गरेको सवारी पास लिएर भने जान पाइन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसरी वितवरण हुने सवारी पासका सम्बन्धमा नयाँ नियम ल्याएको हो ।
कार्यालय परिसरमा मानिसको अत्यधिक भिड भएको र सार्वजनिक निकायका व्यक्तिमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दुरी कायम गर्न नयाँ व्यवस्था गरिएको बताइएको छ । अब अत्यावश्यक काम परेर गाडीको पास चाहिए काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अघिल्लो दिन निवेदन दिएर फर्कनु पर्छ । त्यसको भोलिपल्ट मात्रै पास लिन जानु पर्ने गरी नियम बनाइएको छ ।
निवेदन दिएर त्यही दिन पास लिन कुर्दा कार्यालय परिसरमा मानिसको भिडभाड बढ्ने गर्छ । अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेदेखि पास वितरण थालिने भएको छ । त्यसका लागि गेटमै निवेदन दिने र त्यही स्थानबाट पास लिने व्यवस्था मिलाइएको छ । अहिले शहरी इलाकामा कोरोना भाइरसको जोखिम बढेको छ । जसले गर्दा सरकारले कडाई थालेको छ ।