काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको निर्णायक भनिएको शनिबारको बैठक सहमतिको प्रयासका लागि भन्दै स्थगित भएको थियो । सो बैठक पुनः आज ३ बजे बस्ने गरि बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको टकरावले पछिल्लो एक वर्षयता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । एमाले ओली पक्षका केही नेता माधव नेपाल बीना नै पार्टीलाई अगाडी बढाउने जोडबलमा छ् ।
तर, वार्ता कार्यदलमा रहेका नेताहरु भने अझै पनि सहमतिको प्रयासमा छन् । माधव नेपाल पक्षले भने अब केपी शर्मा ओलीको राजिनामापछि मात्र सहमती हुने अडानमा पुगेको छ । आजको बैठकमा समेत पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे समेत आज छलफल हुँछ । तुलुसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेता सक्रिय हुनेछन् ।
शनिबार पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्याएका कारण नेता नेपाल आइहाल्ने सम्भावना भने छैन ।