काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुखविरुद्ध विपक्षी दलका सांसद एकजुट भएका छन् । त्यसपछि सभाुमख देवराज घिमिरे निर्णय फेर्न बाध्य भएका छन् । सभामुख र विपक्षी दलका सांसदबीच झण्डै आधा घण्टा वादविवाद भयो ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेका थिए । त्यसपछि विवाद सुरु भयो । मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाका सांसद ढकालले बोल्ने समय पाएका थिए ।
उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे । सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए ।
ढकालले विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा ‘’ ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले माइक काटे ।
उनले विषय सकिएको भन्दै बस्न आग्रह गरे । यातायातमा परेको अवरोधको बारेमा बोल्नलाई समय मागेको समेत उनले बताए । सांसद ढकालले भने आफूले आकस्मिक समयमा तीन मिनेट समय पाएको र त्यति समय नसकिँदै माइक काटिदिएको भन्दै विरोध जनाइरहे । त्यसपछि विपक्षी बेञ्चमा रहेका रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाए ।
सभामुख घिमिरेले आकस्मिक समयमा एउटा मात्र विषयमा बोल्नुपर्ने र अरु विषय उठाउन संसदमा शून्य समय र विशेष समय हुने भन्दै बस्न आग्रह गरे ।
रास्वपाका सांसदहरु बसेनन् । रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेले सांसदलाई सभामुखले के विषय बोल्ने, के विषय नबोल्ने भनेर बन्देज लगाउन नमिल्ने बताए ।
रास्वपा र राप्रपा सांसदहरु उठेर विरोध गरिरहेपछि सभामुखले लामिछानेलाई बोल्न २ मिनेट समय दिए । लामिछानेले सांसद ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै माइक काटिएको भन्दै उनलाई आफ्नो समयभरि बोल्न दिन माग गरे । ‘त्यसपछि सभामुखले राप्रपा अध्यक्ष, सांसद राजेन्द्र लिङ्देनलाई पनि २ मिनेट समय दिए । लिङ्देनले भने सांसदहरु सार्वभौम हुने भएकाले जुनसुकै विषय उठाउन सक्ने बताए ।
‘सभामुख घिमिरेले संसदको नियमावलीको कुरा उठाएर मर्यादा कायम राख्न आग्रह गरिरहे । ‘सभामुखले पटक पटक बस्न आग्रह गरिरहेपछि प्रमुख प्रतिपक्षी माओवादी सांसदहरु पनि आ–आफ्नो स्थानमा उठे । संसदमा होहल्ला यो । त्यसपछि सभामुख घिमिरेले संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे सहितका अधिकारीसँग सल्लाह लिए । त्यसपछि सभामुख पछि हटे र सांसद हरि ढकाललाई बाँकी समय बोल्न समय दिए ।