दिपायल । ६ वर्ष अगाडी कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा संलग्न प्रतिनिधिसभातर्फका प्रत्यक्ष निर्वाचित सांसद रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलबाट जन्मकैदको फैसला सुनाइएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको नरसंहार भएको थियो । यो घटनाको योजना बनाएर नेतृत्व गरेको आरोप चौधरीमाथि रहेको छ । यसअघि ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
उच्च अदालतले ७ जनाको सजाय सदर गर्दै चार जनाको सजाय घटाइदिएको छ । उता, तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई भने उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
जन्मकैदको सजाय सुनाइएकामा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् । रेशम चौधरीका तर्फबाट अधिवक्ता शान्ता भण्डारी र सरोज बुढाथोकीले बहस गरेका थिए ।