काठमाडौं
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साँझ अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डेले संयुक्तरुपमा जाहेरी दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले बताए । जाहेरी दर्ता पछि अधिबक्ता भण्डारी भन्छन्; ‘सांसद सरिता गिरीका अभिब्यक्ती पूर्णत राज्यद्रोह कै लागि भएको हुँदा हामीले जन्म कैद माग गरेका छौं । गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानूनी व्यवस्था अनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ । जाहेरीमा उक्त कानून व्यवस्थाविरुद्ध गिरीले षडयन्त्र गरेको भनिएको छ । सांसद गिरीलाई तत्काल पक्राउ गर्न माग समेत गरिएको छ।
नेपालको कानूनमा राज्य बिरुद्धको कसुर अन्तर्गत सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात-हतियार वा खरखजना जम्मा गर्ने हातहतियार सहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानूनमा उल्लेख गरिएको छ ।
दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षडयन्त्र गर्ने वा गराउने गर्न नहुने व्यवस्था छ।
गिरीले आधार र प्रमाणबिना कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन् । उनको संशोधन प्रस्ताव नियमावली विपरीत रहेको भन्दै सभामुखले खारेज गरिदिएका थिए। उनले नयाँ नक्साको निर्णय र संविधान संशोधानविरुद्ध विभिन्न माध्यमबाट वक्तव्यवाजी समेत गर्दै आएकी छिन् । गिरी बिरुद्ध जाहेरी दर्ता गर्ने तिनै जना अधिबक्ता हुन् । अधिबक्ता सन्तोष भण्डारी काठमाडौं कपनका स्थानीय हुन् भने सुजन नेपाल काठमाडौस्थित मुलपानीका स्थानीय हुन् । अर्का अधिबक्ता नवराज पाण्डे नुवाकोटका स्थनीय ब्यक्ती हुन् ।