काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन् ।
आज यूएईबाट तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् । कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंने भएका छन् । कतारको दोहाबाट पनि नेपाली आउनेछन् । मलेसियाबाट पनि नेपाली फर्कने कार्यक्रम रहेको छ ।
यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाडौंका लागि उडिसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यो जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।
नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेका नेपाली छन् ।