काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं अवतरण गरेका छन् । उनी २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमवार काठमाडौं अवतरण गरेका हुन् । निजी विमानमार्फत उनी श्रीलङ्का हुँदै काठमाडौं अवतरण गरेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीले स्वागत गरे । भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मङ्गलवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी मंगलबार नै स्वदेश फर्कनेछन् ।