साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ०९ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव २८ प्रतिशतले ऋणात्मक देखिएको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने तीन दशमलव ९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः छ दशमलव १७ प्रतिशत र दुई दशमलव ९४ प्रतिशत थियो ।

गत साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९७, गैर–मदिराजन्य पेय पदार्थको चार दशमलव ६४ प्रतिशत र फलफूलको तीन दशमलव ०१ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १८ दशमलव ५६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । मरमसलाको चार दशमलव ८१ र माछा तथा मासुको दुई दशमलव ४१ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ६०, शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८४, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको छ । गत साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७० प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ८४, मधेस प्रदेशको एक दशमलव ८६, बागमतीको एक दशमलव ६७, गण्डकी एक दशमलव ०३, लुम्बिनी को एक दशमलव ३५, कर्णालीको एक दशमलव ७९ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ३१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २६, तराईको एक दशमलव ३३, पहाडको एक दशमलव ५६ र हिमालको दुई दशमलव ५९ प्रतिशत रहेको छ ।