साउनमा १३ प्रतिशतले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो महिना (साउन)मा आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आयातसँगै निर्यातमा समेत यो महिनामा गिरावट आएको छ । विभागका अनुसार साउनमा मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यो गत आवको यसै महिनाको तुलनामा २८.६८ प्रतिशत कम हो । गत आवमा साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । आयात र निर्यात दुवै घटेको यो महिना गत वर्षको साउनको तुलनामा वैदेशिक व्यापार खस्किएको छ । साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो ।

गत आवमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । व्यापार घाटा भने यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबरको भएको छ । यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा थियो । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार भएमा ८९.८६ प्रतिशत आयात र १०.१४ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।