काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूदका खेलहरु बुधबारबाट शुरु हुँदैछन् । यद्दपी औपचारिक शुरुवात भने १५ मंसिरमा हुँदैछ ।
यस दिन राष्ट्रपतिले सागको ज्योती बालेर सागको औपचारिक शुरुवात गर्ने कार्यक्रम रहेको छ । ८ राष्ट्रको सहभागितामा हुने दइिक्षण एसियाली क्षेत्रकै वृहत खेलमेला व्यवस्थित गर्न सरकार कस्सिएको छ ।
यसैबीच, खेलको सुरक्षामा चारवटै सुरक्षा निकायको सक्रिय सहभागिता हुने भएको छ । नेतृत्व भने नेपाल प्रहरीले गर्ने भएको छ ।
समन्वय समितिको संयोजक नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल रहेका छन् ।
समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का प्रतिनिधि सरस्वती केसी र फणिन्द्र पौडेललाई राखिएको छ ।
साग २४ मंसिरमा समापन हुने भएको छ । यस पटक सागमा ‘शान्ति, मित्रता र समृद्धि’ नारा दिइएको छ । सागमा आएका खेलाडी, अफिसियल तथा उच्च अधिकारीहरुको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानबाट १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
जिल्लाबाट समेत थप सुरक्षार्की पोखरा र काठमाडौैमा खटिने भएका छन् । विमानस्थलदेखि होटेल र खेलस्थानमा समेत सुरक्षाकर्मीको सूक्ष्म निगरानी हुने भएको छ ।
यस पटक भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङमा मुलुकहरुबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालबाट ६४८ खेलाडी सहभागी हुँदैछन् । कूल तीन हजार २२८ खेलालीले भाग लिने तय भएको आयोजकले जनाएको छ । यसैबीच बुधबारबाट सागका केही खेलहरु भने प्रारम्भ हुँदैछन् । बुधबार भलिबल खेलको तालिका रहेको छ ।