काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले शुक्रबारसम्म कूल ४१ स्वर्ण पदक जितेको छ । शुक्रबार पाँच स्वर्ण हात पार्दा नेपाल पदक तालीकामा दोस्रो स्थानमा यथावत रहेको छ ।
पहिलो स्थानमा भने भारत रहेको छ । भारतले ८१ स्वर्ण जितिसकेको छ । नेपालभन्दा पछाडी करीव आधा अन्तरमा श्रीलंका आइरहेको छ ।
शुक्रबार नेपालले गल्फबाट २, पौडी, भारोत्तोलन र एथ्लेटिक्सबाट १\१ स्वर्ण पदक हात पारेको छ । शुक्रबार एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण पदक हात पारे ।
उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । पौडीमा गौरिका सिंहले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।
बिहीबार उनले २ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् । गल्फको व्यक्तिगत स्पर्धामा सुवास तामांगले स्वर्ण पदक हात पारे ।
गल्फको पुरुष टीम इभेन्टमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामांग र निरज तामांगले स्वर्ण जितेका छन् ।
भारोत्तोलनमा नेपालका लागि शुक्रबार विकास थापाले स्वर्ण जिते । उनले पुरुष ८९ केजी तौल समूहमा नेस्वर्ण जितेका हुन् । बिहीबार पनि भारोत्तोलनले नेपाललाई स्वर्ण दिलाएको थियो ।