काठमाडौं । दक्षिण एसियाली फूटबलको पावर हाउसका रुपमा भारतलाई चिनिन्छ । तर, अन्य मुलुक पनि कमजोर छैनन् ।
नेपालले मंगलबार यही सावित गरेको छ । साविक विजेता नेपालले लगातार दोस्रो स्वर्ण र समग्रमा साग इतिहासमै चौथो स्वर्ण उचाल्दै इतिहास बनाएको छ ।
धेरै स्वर्ण जित्ने सूचीमा नेपालले पाकिस्तानसँग बराबरी गरेको छ । यद्दपी १३ औं सागमा पाकिस्तान र भारतले फूटबल टोली पठाएनन् ।
त्यसो भन्दैमा यो इतिहास भने कमजोर बन्दैन । किनकी नेपालले ५ मुलुक सहभागी प्रतियोगितामा अपराजित रहँदै उपाधी जित्यो ।
नेपालले मंगलबार भएको प्रतिस्पर्धामा भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता बनाएको थियो ।
३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काउँदै भूटानको आशा कायम राखे । खेलको दोस्रो हाफमा नेपालले सुनिल बल उत्कृष्ट हेडगोलको मद्दतमा पुनः अग्रता बनायो ।
सोही गोल निर्णायक बनेपछि नेपालले स्वर्ण पदक जितेको हो । उता, भूटानको नाममा पनि ऐतिहासिक रजत पदक रह्यो । किनकी भूटानले साग इतिहासमा पहिलो पटक रजत जितेको हो ।