काठमाडौं । सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर थपेको छ । पछिल्लो दुई वर्ष यता घाटा चलिरहेको साझा यातायात प्रालिलाई सरकारले निकै माया गरिरहेको छ ।
गत २९ असारमा बसेको मन्त्रीपरिषद् बैठकले साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।
बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले साझालाई ३ अर्ब रुपैयाँ शेयर लगानी प्रदान गर्ने र त्यसबाट ३ सय वटा विद्यूतीय बस खरीदको योजना रहेको जानकारी दिए ।
सरकारले अघिल्लो आवको विकास खर्च गर्न सकेको थिएन । त्यही मौकामा रकमान्तर गरेर साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय भएको हो ।
अब साझा यातायातमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गरेर कूल ३ अर्ब ५२ करोड ५० लाख शेयर लगानी पुगेको छ।
निरन्तर घाटामा गएको यो कम्पनीे सरकारलाई कसरी माथि उकास्छ त्यो भने हेर्न बाँकि छ ।
विद्युतीय बस खरिद गर्न प्रदेश ३ सरकारले साझालाई ३० करोड रुपैयाँ दिइसकेको छ ।
काठमाडौं महानगरपालिकाले २० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँ दिएका छन् ।
अहिले साझासँग ७१ वटा बस संचालनमा छन् ।