साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा संचालन भइरहेको प्रतियोगितामा नेपालको खेल नेपाली समय अनुसार राति ९ः४५ मा शुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएको नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । श्रीलंकाविरुद्ध जित निकाल्न सके नेपाललाई अर्को चरण पुग्न सहज हुने छ ।

श्रीलंका उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताएका छन् । उनले श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै भएको बताए । उनले श्रीलंकालाई सहज रुपमा नलिने उल्लेख गरेका छन् ।